बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकाङ्क्षा पूरा हुन नसक्ने बताए । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को बुटवलमा समापन गर्दै उनले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताए ।
‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैँ तयार छ,’ उनले भने । उनले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम सङ्घीय सरकारले गरेको टिप्पणी गरे । तर, प्रदेश सरकारले भने सधैँ उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको उहाँको भनाई छ । बिजुली कटौतीको विषयमा प्रदेश सरकारले पहिलोपटक खुलेर बोलेको उल्लेख गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइएको जानकारी दिए ।
बुटवललाई आर्थिक हवको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै उनले प्रदेश सरकार सधैँ उद्योगी व्यवसायीको पक्षमा उभिने स्पष्ट पारे ।‘उद्योगी व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार साथमै छ । सधैँ अग्रणी मोर्चामा उभिएको छ,’ उनले भने । रूपन्देही उद्योग सङ्घ बुटवलको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रम सङ्घका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।
महोत्सव पुस ३ गतेदेखि सुरु भएको थियो । महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल रहेका थिए । महोत्सव अवधिभर करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको समापन समारोहमा जानकारी गराइएको थियो ।

थप
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा
कोइलाबास भन्सार सञ्चालन गरेर दाङलाई व्यापारिक केन्द्र बनाउनुपर्छ : आचार्य