November 21, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

तुलसीपुर–१८ मा विपन्न नागरिकको उपचारका लागि अक्षयकोष स्थापना गरिने, महायज्ञबाट १ करोड जुटाउने लक्ष्य

दाङ : तुलसीपुर उपमहानगरपालिका–१८ ले विपन्न, असहाय तथा बेसहारा नागरिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ‘नागरिक उपचार सहयोग अक्षयकोष’ स्थापना गर्ने भएको छ ।

अक्षयकोष स्थापनाका लागि रकम सङ्कलन गर्न वडाले आगामी मंसिर ६ गतेदेखि १५ गतेसम्म श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ–२०८३ सञ्चालन गर्ने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष माधव वलीले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले सहयोग उपलब्ध गराउने रोगका अतिरिक्त नागरिकको अवस्था र आवश्यकताका आधारमा अन्य रोगको उपचारमा समेत सहयोग गरिनेछ ।

महायज्ञबाट न्यूनतम एक करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको अध्यक्ष वलीले बताए । प्रारम्भिक चरणमा स्थापना हुने कोषलाई क्रमशः वृद्धि गर्दै लैजाने वडाको योजना रहेको उनको भनाइ छ ।

तुलसीपुर–१८ को वडा कार्यालय परिसरस्थित बगैँचा, हेमन्तपुरमा सञ्चालन हुने महायज्ञको प्रमुख कथावाचकमा स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्य रहनेछन् ।

महायज्ञमा दुई लाख वा सोभन्दा बढी सहयोग गर्ने दाताको परिवारका छ जनाको नाम शिलालेखमा राखिनेछ भने एक लाख वा सोभन्दा बढी सहयोग गर्ने दाताको परिवारका तीन जनाको नाम शिलालेखमा समावेश गरिने आयोजकले जनाएको छ ।

अक्षयकोष सञ्चालनका लागि वडा अध्यक्षको संयोजकत्वमा सात सदस्यीय कोष परिचालन समिति गठन गरिनेछ । समितिमा कम्तीमा दुई जना महिला र एक जना दलित समुदायबाट प्रतिनिधित्व गराइनेछ भने स्वास्थ्य केन्द्र प्रमुख सदस्य सचिव रहनेछन् ।

कोषको रकम पारदर्शी रूपमा परिचालन गर्न रकम निकासा हुने चेकमा वडा सचिव, लेखा अधिकृत र कोष परिचालन समितिका एक जना प्रतिनिधि गरी तीन जनाको हस्ताक्षर अनिवार्य गरिने वडा अध्यक्ष वलीले जानकारी दिए ।

About The Author