दाङ : लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचारसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८२ / ८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदनसमेत स्वीकृत गरेको छ ।
त्यस्तै, प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पनि पारित गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिए ।
यसैगरी, प्रदेश वन ( दोस्रो संशोधन ) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।
निजी वनका रुख कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि भने सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको छ । बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नीता पोख्रेल अर्याललाई तोक्ने निर्णय गरेको छ । यस्तै पर्यटन विकास परिषद्को आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनका लागि प्रशासन अधिकृत माधव शर्मालाई जिम्मेवारी तोक्ने निर्णयसमेत गरेको छ ।
बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. कृष्णहरी सुवेदी, सामाजिक विकास निर्देशनालय राप्ती उपत्यका ( देउखुरी ) मा कार्यरत सहसचिव दिवाकर भण्डारीको अनिवार्य अवकाश स्वीकृत गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरतत डा. प्रताप पोखरेलको स्वेच्छिक राजीनामा स्वीकृत गरिएको छ ।

थप
श्रम संस्कृति पार्टीको स्थापना दिवसमा तुलसीपुरमा सरसफाइदेखि रक्तदानसम्म
बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य
दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य