दाङ : तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ को आज १३ औँ दिन पनि चर्चित कलाकारहरूको प्रस्तुतिले मेलास्थल गुञ्जायमान बनेको छ । महोत्सवको विशेष आकर्षणको रूपमा रहेका चर्चित लोक दोहोरी गायिका ज्योति मगर र गायक कमल बिसी ‘माल्दाई’को बेजोड साङ्गीतिक प्रस्तुतिमा दर्शकहरू झुमेका हुन् । आफ्नो विशिष्ट गायकी र स्टेज प्रस्तुतिको लागि परिचित गायिका ज्योति मगरले आफ्ना चर्चित गीतहरू गाउँदा दर्शकहरूले हुटिङ र नृत्यमा साथ दिएका थिए ।
त्यस्तै, गायक कमल बिसीले पनि आफ्ना लोकप्रिय सिर्जनाहरू मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभयो । जाडोको प्रवाह नगरी हजारौँको सङ्ख्यामा उपस्थित दर्शकहरूले कलाकारहरूसँगै गाएर र नाचेर महोत्सवको माहोललाई थप उत्सवमय बनाएका थिए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा प्रथम तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक प्रस्तुतिसँगै व्यापारिक स्टलहरू र बाल उद्यानमा समेत अवलोकनकर्ताहरूको आकर्षण बढ्दै गएको छ ।
१३ औँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उपस्थिति अत्याधिक भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताए । दर्शकको उत्साहजनक सहभागिताले आर्थिक कारोबार पनि बढेको छ । महोत्सवमा भोलि चर्चित नायक पल शाह आउने सांस्कृतिक संयोजक टिकाजङ्ग वलीले जानकारी दिए । महोत्सवको १४ औँ दिन भोलि नायक पल शाहसँगै गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टङ्क खड्का लगायतको प्रस्तुति रहने छ ।
भोलि पनि दर्शकको सहभागिता उल्लेख्य हुने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताए । उनले दर्शकको उत्साहजनक सहभागिताले आयोजकलाई थप हौसला मिलेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सञ्चालन भइरहेको महोत्सव १९ गतेसम्म सञ्चालन हुने छ ।

थप
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा
कोइलाबास भन्सार सञ्चालन गरेर दाङलाई व्यापारिक केन्द्र बनाउनुपर्छ : आचार्य