February 18, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

तुलसीपुर महोत्सवमा पुस्कल र प्रितीको धमाकेदार प्रस्तुति,

भोलि बद्रि पँगेनी र टिका सानु लगायतका कलाकार आउँदै

दाङ :  दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा सोमबार ११ औँ दिनमा चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा र गायिका प्रीति आलेको धमाकेदार प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको छ ।  पुसको कठ्याङ्ग्रिँदो चिसोका बाबजुद महोत्सव स्थलमा उपस्थित हजारौँ दर्शकहरू कलाकारद्वयको गीतमा झुमेर छमछमी नाचेका छन् । महोत्सवको ११ औँ दिनमा प्रमुख आकर्षणका रूपमा रहेका पुस्कल शर्माले आफ्ना लोकप्रिय वियोगान्त र कारुणिक गीतहरूबाट दर्शकलाई भावुक बनाएका थिए, भने लगत्तै प्रीति आलेले आफ्नो ऊर्जावान् प्रस्तुति मार्फत माहोललाई तताएकी थिइन् । 

साँझपख चिसो बढ्दै गए पनि दर्शकहरूको उत्साहमा कुनै कमी देखिएको थिएन । गायक पुस्कल शर्माले आफ्ना हिट गीतहरू गाउँदै गर्दा दर्शकहरूले हुटिङ गरेर साथ दिएका थिए । त्यसैगरी, प्रीति आलेले आफ्ना चर्चित गीतहरू गाउँदा दर्शक दीर्घामा रहेका युवायुवतीदेखि वृद्धवृद्धासम्म नाचेर साथ दिएका थिए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सञ्चालित यस महोत्सवमा दैनिक रूपमा दर्शकको उल्लेख्य सहभागिता हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताए ।

उनका अनुसार कलाकारहरूको प्रस्तुतिले दर्शकको आकर्षण बढाउँदा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ । चिसोका कारण मानिसहरू घरबाहिर निस्कन हिचकिचाएका बेला कलाकारहरूको प्रस्तुतिले महोत्सवमा नयाँ ऊर्जा थपेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताए ।  महोत्सवमा मङ्गलबार चर्चित गायक बद्री पङ्गेनी, टिका सानु, एमटी महर र हास्यव्यङ्ग्य कलाकार कमल गाउँले आउने सांस्कृतिक संयोजक टिकाजङ्ग वलीले बताए  । महोत्सवमा आगामी दिनहरूमा पनि अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

About The Author