दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहाडका छ जिल्लालाई अर्गानिक क्षेत्रमा रूपान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताए । कृषि विकासको लागि प्रदेश सरकारको प्राथमिकता, कार्यदिशा र साझेदार निकायसँग सहकार्यको उपलब्धि र प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमलाई बुधवार राप्ती उपत्यका ( देउखुरी ) मा सम्बोधन गर्दै उनले पाल्पाको निस्तीमा अर्गानिक घोषणा गरेर अदुवा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सफल भएको अनुभवलाई आधार बनाउँदै १० वर्षभित्र स्पष्ट किटानीसहित अर्गानिक क्षेत्र घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको बताए ।
साझेदार निकायहरूसँग सहकार्य बढाउँदै माछा, मासु, दूध, फलफूल, तरकारी तथा अन्य उत्पादनमूलक क्षेत्रमा साझेदारी गर्न सकिने बताउँदै उनले सरकार र साझेदार दुवैले ५०–५० प्रतिशत लगानी गरेर परिणाममुखी कार्यक्रम अघि बढाउन सकिनेमा बताए । उनले वनजंगलको पातपतिङ्गर र गोठको मल व्यवस्थापन गरेर अर्गानिक उत्पादन बढाउन सकिने आधारसहित सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटेको स्पष्ट पारे । आधारभूत जनताको जीवनस्तर सुधार्न कृषि क्षेत्रलाई नै प्राथमिकता दिएर काम हुनुपर्ने, त्यसमा सरकार र साझेदार निकायको बिचमा प्रभावकारी साझेदारी आवश्यक पर्ने बताए ।
विगतमा बुटवलको वधशालामा प्रदेश सरकारले गरेको लगानी अपेक्षित परिणाम दिन नसकेको उदाहरण दिँदै भविष्यका साझेदारी कार्यक्रम स्पष्ट किटानी र प्रतिफलमा आधारित हुनुपर्ने बताए । कार्यक्रमका अध्यक्ष तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दूध, मासु, माछा, तरकारी र खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकार प्राथमिकतासाथ काम गर्दै आएको जानकारी दिए। उनले सुरुवात भएका उपलब्धिलाई संस्थागत गर्दै सहकार्यको दायरा अझ विस्तार गरिने बताए । हेफर इनटरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर साना किसानको जीवनस्तर सुधारको उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए ।

थप
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा
कोइलाबास भन्सार सञ्चालन गरेर दाङलाई व्यापारिक केन्द्र बनाउनुपर्छ : आचार्य