दाङ : करिब ३ वर्षअघि दाङको तुलसीपुर–१९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले सुरु गरेको ‘स्वर्ण बिन्दु प्राशन’ अभियान अहिले देशव्यापी बन्दै गएको छ। शुरुवातमा करिब ७५ जना बालबालिकालाई खुवाएर सुरु गरिएको यो कार्यक्रम अहिले दाङ मात्र नभई अन्य जिल्लाका बालबालिकाले पनि नियमित रूपमा सेवन गर्न थालेका छन्।
अस्पतालले प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ। यसको सकारात्मक प्रभाव देखिएपछि अभिभावकको सहभागिता उल्लेख्य रूपमा बढेको अस्पतालले जनाएको छ। कतिपय अभिभावक आफ्नो बच्चालाई नियमित ल्याउने गर्छन् भने कोही पहिलो पटक खुवाउन बिहानैदेखि लाइनमा उभिने गरेका छन्।
तुलसीपुर–८ की देवा डाँगीले गत चैत्र महिनादेखि आफ्ना बच्चालाई खुवाउँदै आएकी छन्। उनका अनुसार यसपछि बच्चा कम बिरामी हुने भएकाले निरन्तर खुवाइरहेको बताइन्। यस्तै तुलसीपुर–९ की धना भुसालले पनि पहिलो पटक पनातिनीलाई ल्याएर खुवाएकी थिइन्। उनले भने, “खुवाएपछि बच्चा बिरामी नहुने थाहा पाएपछि आएको हुँ।”
अस्पतालका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तका अनुसार जन्मेको ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई यो औषधि खुवाइन्छ। गत महिना करिब ५ हजार बालबालिकाले सेवन गरेकोमा यसपटक ८ हजारभन्दा बढी पुगेको उनको भनाइ छ।
स्वर्ण भस्म, ब्राह्मी घृत, महलगायतका जडीबुटी प्रयोग गरेर तयार हुने यो औषधि प्रत्येक बच्चामा करिब ५० रुपैयाँ लागतमा उत्पादन हुने भए पनि हालसम्म निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ।
डा। श्रीवास्तका अनुसार यस वर्षदेखि प्रदेश सरकारले १२ वटै जिल्लामा र संघीय सरकारले २३ जिल्लामा यो कार्यक्रम विस्तार गरेको छ। “अहिलेसम्म कुनै नकारात्मक असर देखिएको छैन,” उनले भने, “५ वर्ष नपुग्दासम्म बच्चालाई खुवाउँदा स्वास्थ्यमा फाइदा मात्र हुने देखिएको छ।”
पूर्व सांसद सुजिता साक्यले यस अभियानलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने बताइन्। उनले भनिन्, “दाङमा देखिएको दृश्यले अभिभावकको आकर्षण कति बढेको छ भन्ने प्रष्ट हुन्छ। यसले बालबालिकालाई फाइदा गरेको छ, त्यसैले अब देशभर लागू गर्नुपर्छ।”

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य