दाङ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो ? तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताए । त्यसैगरी नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य लिला शाहले महिलाहरूका लागि तीजले आत्मबल, उमङ्ग र उत्साह दिने अवसर निर्माण गर्ने बताइन् ।
उनले भनिन्, “तीज केवल गीत–नृत्यमा सीमित छैन । यसले हाम्रो संस्कृतिको संरक्षण गर्ने र महिलाबीच आपसी सन्देश प्रवाह गर्ने काम गर्छ । तर यो पर्वलाई व्यावसायिकता र खर्चिलो प्रतिस्पर्धामा जकडिन दिनु हुँदैन ।” नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पर्वले ल्याउने सामाजिक एकताको पक्षमा जोड दिए । उनले भने,‘‘ पर्व भनेको सबै मिलेर मनाउने साझा खुशी हो । यसलाई खर्चिलो बनाउने होइन, सामाजिक सौहार्द र परिवारमा खुसी ल्याउने माध्यम बनाउनुपर्छ ।
पत्रकार महासङ्घजस्तो संस्था महिला विभागमार्फत यस्तो कार्यक्रम गर्दै संस्कृतिको जगेर्ना गर्न लागेको देख्दा खुसी लागेको छ । ” नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तीज मिलन जस्ता कार्यक्रमले पत्रकारबीचको आत्मीय सम्बन्ध बलियो हुने बताए। पत्रकार महासङ्घले केवल पेशागत अधिकारका लागि मात्र नभइ सामाजिक र सांस्कृतिक क्षेत्रको संरक्षणका लागि पनि जिम्मेवारी बहन गर्नु पर्ने बताए । महिला विभागले आयोजना गरेको यो कार्यक्रमले दाङ जिल्लामा महिला पत्रकारहरूको सक्रियता र सहभागिता झल्काउँने उनको भनाइ छ ।
नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेलले तीजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने धारणा राखिन । तीज महिलाहरूको साझा उत्सव भएको भन्दै उनले यसमा महिलाहरूले आफ्ना समस्या, सपना र सङ्घर्षलाई गीतमार्फत अभिव्यक्त गर्ने अवसर पाउने बताइन। प्रेस सेन्टरकी केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यले तीज जस्ता पर्वले महिला पत्रकारहरूको हौसला बढाउने बताइन। उनका अनुसार पत्रकार महिलाहरूले पेशागत दायित्वसँगै संस्कृतिको जगेर्नामा पनि सक्रिय हुनुपर्छ ।
आजको कार्यक्रममा देखिएको उत्साहले आगामी दिनमा महिला विभागलाई अझ सबल बनाउन सहयोग पुग्नेछ । क्रान्तिकारी पत्रकार सङ्गठनकी केन्द्रीय सदस्य सुशीला आचार्यले तीजले वर्गीय र सामाजिक समानता स्थापना गर्न सन्देश दिने बताइन् । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुदर्शन रिजाले तीज मिलनजस्ता कार्यक्रमले पत्रकारबीच आपसी सम्बन्ध र समझदारी बलियो हुने धारणा राखेका थिए। कार्यक्रममा महिला विभाग प्रमुख एवं महासङ्घ दाङ शाखाकी उपाध्यक्ष नारायण रजौरेले अध्यक्षतामा भएको थियो ।
सरिता चौधरीले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन रमा नेपालीले गरेकी थिइन् । कार्यक्रममा विभिन्न पत्रकार संघ–संगठनका प्रतिनिधिहरू, महिला पत्रकार तथा दाङ जिल्लाका सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो । सहभागीहरूले तीज गीत गाएर, नाचगान गर्दै र आपसी आत्मीयता बाँडेर कार्यक्रमलाई उत्साहपूर्ण बनाए ।

थप
तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ