दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्नेगरी सञ्चालन गर्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न स्पष्ट निर्देशन दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/ ८२ को प्रगति समीक्षा कार्यक्रमलाई सोमवार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्ने बताए ।
उनले समपूरक, विशेष र सशर्त अनुदानको बजेट यथासमय कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिँदै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने बताए । उनले कालोपत्रे सडकभन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए ।
जनघनत्वको आधारमा योजना छनोट र स्टिमेट तयार पार्नुपर्ने भन्दै उनले योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्व बढाउन आग्रह गरे । समिक्षा कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक तथा प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको छ ।

थप
पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनका लागि लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै