September 8, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

पत्रकार महिलाको सुरक्षा नीति मस्यौदा महासङ्घलाई हस्तान्तरण 

दाङ :  पत्रकार महिलाको सुरक्षा नीति निर्माण सम्बन्धी मस्यौदा नेपाल पत्रकार महासङ्घ दाङ शाखालाई हस्तान्तरण गरिएको छ । पत्रकार महिला मञ्चको आयोजनामा शुक्रबार घोराहीमा एक कार्यक्रम गरी पत्रकार महिलाको सुरक्षा नीति निर्माणका विषयमा तयार पारिएको मस्यौदा नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासङ्घ दाङ शाखा मार्फत जिल्ला स्थित मिडिया हाउसबाट कार्यान्वयनमा ल्याउने गरि तयार पार्न लागिएको महिलाको पेशागत सुरक्षा नीतिले पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षामा टेवा पुर्याउने विश्वास गरिएको छ ।

पत्रकार महिला मञ्चकी लक्ष्मी आचार्यको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनको विशेष उपस्थित एवम् महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीलगायत पत्रकारहरूको सहभागितामा हस्तान्तरण गरिएको पत्रकार महिलाको सुरक्षा नीतिले पत्रकार महिलाहरूको पेशागत, भौतिक, मानसिक, सामाजिक र समग्र सुरक्षाको सवाल सम्बोधन गर्न सहज हुने बताईएको छ । कार्यक्रममा महासङ्घका सचिव प्रियासनले हस्तान्तरण गरिएको मस्यौदालाई  पत्रकारितामा महिलाहरूलाई पेशागत आकर्षण बढाउँदै उनीहरूको सुरक्षा हुने विषय सम्बोधन गर्ने खालको नीति बनाउन सुझाव दिए । 

महिलाको हरेक संवेदनशीलतालाई ख्याल गरेर नीति बनाउन सकेको अवस्थामा नेपाल पत्रकार महासङ्घको विधानलाई थप समृद्ध बनाउन सहयोग पुग्ने वक्तारहरूको विश्वास छ ।कार्यक्रममा महासङ्घ दाङ शाखा अध्यक्ष  सन्तोष सुवेदी, उपाध्यक्षद्वय नारायणी रजौरे, ओपेन्द्र बस्नेत, सल्लाहकार दुर्गालाल केसी,  चुमा आचार्यलगायतले पत्रकार महिलाको सुरक्षा नीति निर्माण दाङका लागि स्वागतयोग्य विषय भएको भन्दै नीतिलाई पूर्णता दिएर कार्यान्वयनमा लैजान सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यस्थलमा भौतिक एवं पेशागत सुरक्षा, पत्रकार महिलाहरूप्रति हुन सक्ने यौनजन्य दुर्व्यवहार, मानसिक हिंसा तथा अन्य कुनै पनि प्रकारका महिलाविरुद्धका हिंसाबाट जोगाउने व्यवस्था गर्ने  पत्रकार महिला सुरक्षा नीतिको मुख्य उद्देश्य रहेको छ ।नीतिले मर्यादित, सुरक्षित र समान कार्य वातावरण सुनिश्चित गर्ने, पीडितलाई आवश्यकसहयोग प्रदान गर्ने, दोषीलाई उचित कारवाहीको दायरामा ल्याउने तथा यस्ता घटना हुन नदिन पूर्वसावधानी र सचेतनामूलक उपायहरू अवलम्बन गर्ने व्यवस्थालाई संस्थागत बनाउने लक्ष्य राखिएको  पत्रकार महिला मञ्चकी अध्यक्ष लक्ष्मी आचार्यले बताइन् ।

 पत्रकारिता क्षेत्रमा महिलाको सक्रिय सहभागिता, आत्मबल र नेतृत्व विकासलाई प्रोत्साहन गर्दै कार्यस्थलमा महिला मैत्री वातावरण सुनिश्चित गर्नु नीतिको मूल उद्देश्य रहेको उनले  बताइन् । पत्रकार सुरक्षा नीतिको मस्यौदाको खाका पार्न प्रदीप मजगैयाँले सहजीकरण गरेका थिए, भने कार्यक्रमको सहजीकरण पत्रकार महिला मञ्चकी उपाध्यक्ष सुशीला आचार्यले गरेकी थिइन् ।यसैबीच, पत्रकार महिला मञ्चले तयार पारेको नीतिको मस्यौदा ग्रहण गर्दै पत्रकार महासंघले धन्यवाद ज्ञापन गरेको छ । उक्त मस्यौदा माथि बृहत् छलफलबाट अन्तिम रुप दिने बताईएको छ ।

About The Author