शान्तिनगर : ‘शान्तिनगरको इच्छा, जीवन धान्ने शिक्षा’’ भन्ने मुल नाराका साथ शान्तिनगर गाउँपालिकाले माध्यमिक तहका विद्यालयहरूमा सीपमूलक तालिम सुरु गरेको छ। यही सन्दर्भमा शान्तिनगर–२ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा बुधबारदेखि १० दिने वाइरिङ तथा प्लम्बिङ तालिम सुरु गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा सुरु गरिएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।
विद्यालयका प्रधानाध्यापक निमबहादुर केसीका अनुसार तालिमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। “हाम्रो उद्देश्य विद्यार्थीलाई पाठ्यक्रमसँगै व्यवहारिक सीप दिनु हो, जसले भविष्यमा रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुर्याउँछ,” प्रधानाध्यापक केसीले बताए ।
तालिममा कक्षा ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको छ। स्थानीय स्तरमा सीप विकासमार्फत स्वरोजगारको वातावरण निर्माण गर्न यस्ता तालिम प्रभावकारी हुने जनाइएको छ। तालिमका प्रशिक्षकहले विद्यार्थीहरूलाई विद्युत् जडान, वायरिङ प्रणाली, पानी जडान, पाइप फिटिङजस्ता व्यवहारिक सीपहरू प्रदान गर्ने छन् । गाउँपालिका शिक्षा शाखाका अनुसार अन्य विद्यालयहरूमा पनि क्रमशः यस्ता तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ।
शैक्षिक गुणस्तर सुधारसँगै सीपयुक्त शिक्षा प्रवर्द्धन गर्नु गाउँपालिकाको प्रमुख उद्देश्य हो। अभिभावक र विद्यालय व्यवस्थापन समितिले समेत यस्ता तालिमलाई सकारात्मक रूपमा लिएका छन्। “सीप भएमा देशमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको विद्यार्थीहरुको भनाइ छ । यस्तै विद्यालयमा कक्षा ११ र १२ मा कृषि अंग्रेजी , नेपाली, शिक्षा, अर्थशास्त्र , स्वास्थ्य शारीरिक आदि विषय पढाइ हुँदै आएको छ ।

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य