September 7, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

दाङमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दाङ :  दाङ जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि बेलझुण्डीमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्‌घाटन गरेका थिए ।  उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको उल्लेख गर्दै यसलाई सुखद पक्षको रूपमा लिनुपर्ने बताए ।

प्रदेशको समग्र विकासमा खेल क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले खेल पूर्वाधारको विकास, खेलाडी उत्पादन र नियमित प्रतियोगिता सञ्चालनमा सरकार गम्भीर रूपमा क्रियाशील रहेको बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाट नयाँ खेलाडी उत्पादन गर्न उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै उनले यसलाई अझ व्यवस्थित गर्दै खेलाडीहरूलाई उत्कृष्‍टता हासिल गर्ने वातावरण तयार गर्न जोड दिए । 

प्रतियोगिता उद्‌घाटन कार्यक्रम दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उद्‌घाटन कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लगायत जनप्रतिनिधि, खेलप्रति तथा जिल्लाका दशवटै पालिकाका खेलाडीहरूको सहभागिता रहेको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपयोगिता

विद्यालय तहदेखि नै प्रतिभावान् खेलाडी पहिचान र उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिने यो प्रतियोगिता खेल क्षेत्रको आधार निर्माण गर्ने महत्वपूर्ण थलो हो । यसले स्थानीय स्तरमा खेलकुदको विकास मात्र होइन, विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा पनि सहयोग पुर्‍याउने गरेको छ । प्रतिस्पर्धात्मक अभ्यासले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गराउँछ भने स्थानीय स्तरमै खेल पर्यटनको सम्भावना पनि बढाउँछ ।

About The Author