दाङ : दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगितामा क्वाटरफाइनल खेल्ने सात टिमको टुङ्गो लागेको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा बुधबारदेखि शुरु भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत बिहीबार भएका लिग चरणको खेलबाट क्वाटरफाइनल खेल्ने सात टिमको टुङ्गो लागेको हो । लिग चरणको अन्तिम खेलमा दाङ र बर्दिया बीचको खेल कमजोर भिजिबिलिटीका कारण रोकिएपछि क्वाटरफाइनल समीकरण पूरा हुन नसके पनि अन्य सात टिमले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
घोराही उपमहानगरपालिका १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा जारी प्रतियोगितामा क्वाटरफाइनमा रोल्पा, रुकुम पूर्व, पाल्पा, अर्घाखाँची, बाँके, कपिलवस्तु र रूपन्देही प्रवेश गरेका छन् । दाङ र बर्दिया भने लिग चरणको अन्तिम खेलमा १–१ को बराबरीमा रोकिएका छन् । अब यी दुई टीम बीचको खेल शुक्रबार बिहान फेरि शुरुबाट हुने आयोजकले जनाएको छ । दुवै टिमलाई क्वाटरफाइनल प्रवेश गर्न जित अनिवार्य छ । समुह ‘डी’ मा रहेका रूपन्देही, दाङ र बर्दिया मध्ये रूपन्देही समुह विजेता हुँदै अन्तिम आठमा स्थान सुरक्षित गर्दा अब दुई मध्ये एक टीम उपविजेता हुँदै क्वाटरफाइनल पुग्नेछ ।
समुह ‘ए’ बाट रोल्पा विजेता र रुकुम पूर्व उपविजेता हुँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । समुह ‘बी’ बाट पाल्पा बुधबार नै क्वाटरफाइनल प्रवेश गर्दा अर्घाखाँची उपविजेता हुँदै अन्तिम आठमा पुगेको छ । समुह ‘सी’ बाट बाँके विजेता र कपिलवस्तु उपविजेता हुँदै अन्तिम आठमा पुगेका छन् । समुह ‘डी’ बाट रूपन्देही विजेता हुँदै अन्तिम आठमा पुग्दा उपविजेताको टुङ्गो शुक्रबार हुने लिग चरणको अन्तिम खेलबाट लाग्ने आयोजकले जनाएको छ । यसअघि, लिग चरणको खेलमा कपिलवस्तुले प्युठानलाई ३–२ को सेटमा हराउँदा, रूपन्देहीले बर्दियालाई ३–१ को सेटमा हरायो । यसैगरी, रोल्पाले गुल्मीलाई ३–० को सोझो सेटमा हराउँदा अर्घाखाँचीले पनि नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
बाँकेले पनि कपिलवस्तुलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा लिग चरणबाट अहिलेसम्म गुल्मी, नवलपरासी र प्यूठान बाहिरिएका छन् । लिगकम नकआउटको आधारमा खेलाइएको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाबाट महिला भलिबल खेलाडी दाङमा आएका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिए । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद, लुम्बिनीले जनाएको छ ।
प्रतियोगिताको क्वाटरफाइनल र सेमिफाइनलको खेल शुक्रबार हुनेछन् । फाइनल खेल शनिबार हुने आयोजक प्रदेश खेलकुद परिषद लुम्बिनीले जनाएको छ । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेता टिमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।
यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद पन्ध्र हजार प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको उनले बताए ।

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य