July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

शान्तिनगरमा ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

दाङ : ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित शान्तिनगर गाउँपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता २०८१ शुरु भएको छ । पुस १८ गतेदेखि २० गतेसम्म शान्तिनगर ४ मा रहेको बुद्ध माध्यामिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता शुरु भएको हो । शान्तिनगर ४ का वडाध्यक्ष गुमान बहादुर वलीको अध्यक्षतामा एवं गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको विशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्‌घाटन गरिएको थियो । 

उद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले यो प्रतियोगिता विद्यालयहरूले महोत्सवका रुपमा लिने गरेको भन्दै प्रत्येक वर्ष यसरी मनाउने गरेको बताए । उनले यो प्रतियोगिताको आफ्नै नियम कानुन रहेको र त्यही अनुसार खेलकुदका विभिन्न विद्याहरू खेलाइने गरेको समेत बताए ।उनले भने,‘ यो प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभाहरू बाहिर ल्याउन मदत गर्दछ । जसका कारण उनीहरु खेल क्षेत्रमा अगाडि बढ्न सक्छन् । ’ यस्तै उनले यो प्रतियोगिता पछि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म खेल्न अवसर पाइने समेत बताए ।

पछिल्लो समय खेलकुदका हरेक विद्याबाट  गाउँपालिका प्रमथ,  द्वितीय र तृतीय स्थान हासिल गरेको समेत उनको भनाइ छ । उनले खेलकुदले स्वास्थ्य र राष्ट्रको लागि पनि फाइदा पुग्ने भन्दै यस पटक पनि उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला, प्रदेश र केन्द्र हुँदै अन्तराष्ट्रिय खेल खेल्ने गरी आगाडि बढ्न आग्रह गरे ।  यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बुढाथोकीले विद्यार्थीहरू भित्र लुकेर रहेको प्रतिभाहरू प्रस्फुटन गर्नको लागि यो प्रतियोगिताको आयोजना हुने गरेको बताइन् । उनले सबैभन्दा ठुलो कुरा अनुशासन हुने भन्दै अनुशासन र मर्यादित भएर खेलहरू खेल्न आग्रह गरिन् । 

उनले ३ दिनसम्म हुने यो प्रतियोगितालाई सफल बनाउन सबैको जिम्मेवारी रहने भन्दै अनुशासित र मर्यादित भएर खेल्न आग्रह गरिन् । उनले खेलमा विभिन्न किसिमका नियमहरू बनाएको भन्दै  नियममा टेकेर नै खेल खेल्न आग्रह गरिन् ।  विसं २०६६ सालदेखि नै नेपाल सरकारले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको छ, त्यति अनुसार स्थानीय तहमा २०७५ सालदेखि यो प्रतियोगिता हुँदै आएको छ, भने  जिल्ला प्रदेश  हुँदै केन्द्रसम्म यो प्रतियोगिता हुने गरेको छ ।

गत वर्ष यो प्रतियोगिताको शिल्ड शान्तिनगर ७ खैरेनीमा रहेको संस्थागत विद्यालय मीड वेस्ट  एकाडेमीले उचालेको थियो ।गाउँपालिका भित्र  रहेका सामुदायिक र संस्थागत गरी १८ वटा प्रतियोगितामा सहभागी रहेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेको स्वागत मन्तव्य शुरु भएको कार्यक्रमको सहजीकरण बुद्ध  माविका शिक्षक तिलक वलीले गरेका थिए ।

About The Author