दाङ : नेपाली काङ्ग्रेसका लागि जीवन समर्पण गरेका स्व: शालिकराम घिमिरेको योगदान पार्टीका भाषण र आश्वासनमा मात्रै सीमित भएको परिवारले गुनासो गरेको छ । दाङको बबई गाउँपालिका ( साबिक पुरन्धारा गाविस) का नेपाली काङ्ग्रेसका तत्कालीन पार्टी उपसभापति घिमिरेको २०५५ साल साउन १६ गते तत्कालीन माओवादी पक्षबाट हत्या भएको थियो ।
पार्टी सङ्गठन निर्माण र सामाजिक कार्यमा सक्रिय घिमिरेले आफ्नो जीवन काङ्ग्रेसमा समर्पित गरेको परिवारको भनाइ छ । घिमिरेको हत्या भएपछि परिवारलाई पार्टीका तर्फबाट विभिन्न आश्वासन दिइएको भए पनि तीमध्ये अधिकांश पूरा नभएको परिवारको गुनासो छ । विशेषगरी स्व। घिमिरेको सालिक निर्माण गर्ने प्रतिबद्धता लामो समयसम्म पूरा नभएपछि परिवारले पटक पटक पार्टीका विभिन्न तहमा आग्रह गर्दै आएको जनाएको छ ।
घिमिरेका भाइ गोविन्द घिमिरे र छोरा घनश्याम घिमिरेले सालिक निर्माणका लागि पार्टीका विभिन्न निकायमा पटक पटक आग्रह गरेपछि २८ वर्षपछि २०८३ साल साउन १६ गते सालिक निर्माण गरेर उद्घाटन गरिएको थियो । तर शिलान्यास भएको लामो समय बितिसक्दा पनि निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएको परिवारको गुनासो छ।
पार्टीको १५ औँ महाधिवेशनको सन्दर्भमा समेत स्व। घिमिरेको योगदानको उचित मूल्याङ्कन हुन नसकेको परिवारले जनाएको छ । घिमिरेको पार्टीप्रतिको त्याग, योगदान र सामाजिक भूमिकाको सम्मान हुन नसकेको भन्दै छोरा घनश्याम घिमिरेले दुःख व्यक्त गरेका छन् ।
उनले भने, “मेरो बुवाले पार्टी र समाजका लागि गर्नुभएको योगदानको आज पार्टीले मूल्याङ्कन गर्न नसक्दा म मात्रै होइन, मेरो परिवार नै दुःखी भएको छ ।” परिवारले स्व: घिमिरेको योगदानलाई केवल भाषण र आश्वासनमा सीमित नराखी उहाँको स्मृति र सम्मानका लागि गरिएको प्रतिबद्धता पूरा गर्न नेपाली काङ्ग्रेस दाङसँग आग्रह गरेको छ ।

थप
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय
श्रम संस्कृति पार्टीको स्थापना दिवसमा तुलसीपुरमा सरसफाइदेखि रक्तदानसम्म
बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य