अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गरे । नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै उनले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताए।
‘अहिले जुन सरकार बनेको छ, यसले आँट गरेर न्यायिक छानबिन गर्ने हो भने कठघरामा को को उभिनुपर्छ भन्ने देखिनेछ‘, उनले भने,।‘ न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गरोस् ।’ आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ ।‘ तपाईँ हाम्रा घर सुधार्न जरुरी छ । घर भनेको पहिलो पाठशाला हो । आमा–बुवाले राम्रो ज्ञानगुनका कुरा सिकाउने थलो हो,‘ उनले भने,‘ के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा सिकाउन जरुरी छ ।’
मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना गरिएको उल्लेख गर्दै उनले यस्ता परिस्थितिको सामना गर्न पार्टीपङ्क्ति तथा नागरिकस्तरमा सहकार्य आवश्यक रहेको धारणा राखे । नेपालको भूमि लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भन्दै सम्झौता गरेको कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र गरी विषम परिस्थिति सिर्जना गरिएको उनको दावी छ । सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य एवं मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य