July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान सुरु

दाङ :  नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले पत्रकारहरूको सुरक्षाका लागि १ करोड रुपैयाँ राशिको कल्याणकारी कोष स्थापना अभियान सुरु गरेको छ । महासङ्घको यसअघि गरिएको बैठकको निर्णय अनुरूप कोषमा रकम सङ्कलनका लागि सहयोग अभियान सुरु भएको हो । जसअनुसार मुलुककै सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही उपमहानगरपालिकामा कोष स्थापनाका लागि पत्रकार महासङ्घले ज्ञापनपत्र बुझाएको छ ।

पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सहित पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको टोलीले घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीलाई भेट गरेर कोषमा रकम सहयोग गर्न आग्रह गरेको छ । निवर्तमान केन्द्रीय अध्यक्ष पोखरेल सहित पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्र ऋषि चौलागाईँ, महासचिव पाण्डव शर्मा, पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्षहरू दुर्गालाल केसी, सुदीप गौतम सहितका पत्रकारहरू उपमहानगरपालिका पुगेका थिए । 

नगर प्रमुख चौधरीले जोखिममा पर्न सक्ने पत्रकारहरूलाई मध्यनजर गरेर महासङ्घमा स्थापना गरिएको कल्याणकारी कोषको अवधारणा निकै प्रशंसनीय भएको बताए ।  महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरूको भौतिक र पेशागत सुरक्षा अपरिहार्य भएको धारणा व्यक्त गरे ।  महासङ्घ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंले कल्याणकारी कोष स्थापनाका लागि तीन तहकै सरकार र अन्य सरोकारवाला पक्षहरूसँग सहकार्य गरिने स्पष्ट पारे । 

महासङ्घका लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले विगतदेखि नै घोराही उपमहानगरपालिका मिडिया मैत्री र साना लगानीका मिडियाहरूको प्रवर्द्धनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने स्थानीय तहको रुपमा स्थापित भएको बताए ।  यसैबीच नेपाल पत्रकार महासङ्घका केन्द्रीय  सचिव सविन प्रियासनले लुम्बिनी प्रदेश समितिले प्रारम्भ गरेको कल्याणकारी कोष स्थापना सकारात्मक भएको उल्लेख गर्दै यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । 

About The Author