July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री स्तरीय बैठक : सहकार्यका नौ  निर्णय

लुम्बिनी :  लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री स्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका १ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णय पत्रमा हस्ताक्षर गरेका हुन । मुख्यमन्त्री चेतनारायण आचार्यले निर्णय कार्यान्वयनका लागि दुबै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएको र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेको जानकारी दिए।

 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सिमा जोडिएका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेश सरकार बिचमा समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता  रहेको बताए । बैठकमा नेपाल संविधानको धारा २३२ र २३३ मा रहेको समन्वय र सहकार्यको मर्मलाई आधार बनाइ दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्त रुपमा अघि बढाउने सहमति गरिएको छ ।निर्णय अनुसार २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न पहिलो बैठकमा गरिएका २१ बुँदाका प्रतिवद्धताको कार्यान्वयन समीक्षा गरी तीन महिनाभित्र कार्ययोजना तयार गर्ने, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्ने व्यवस्था मिलाइने भएको छ ।

बैठकले दामोदरकुण्ड– कृष्णागण्डकी ‘उत्तरवाहिनी’– लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्ने निर्णय गरेको छ । त्यस्तै, रूपान्तरणकारी कार्यक्रमलाई अन्तर प्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेश गर्ने, कार्तिक महिनामा उत्तरबाहिनी क्षेत्रमा हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय भएको छ ।

बैठकले सिकाइ आदान-प्रदानका लागि प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने, कानूनी तथा नीतिगत एकरूपता कायम गर्दै जाने र दुबै प्रदेशका तीर्थ तथा पर्यटकीय स्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार गर्ने निर्णय पनि गरेको छ । बैठकमा दुबै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सरोकारवाला पक्षका व्यक्तिहरूको सहभागिता थियो ।

About The Author