दाङ : कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाण्डौबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका ९ वेलनदीमा दुर्घटनामा परेको हो। बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तिन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार घाइते मध्ये गम्भीर अवस्थाका तिन जनालाई उपचारको लागि बुटवल रिफर गरिएको छ भने २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। बुटवल रिफर गरिएकाहरूमा सल्यान बागचौर नगरपालिका १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान शारदा नगरपालिका १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका ११ का ३५ वर्षीय श्रीधर अधिकारी रहेका छन्। उनीहरूलाई बिहान सवा ५ बजेतिर बुटवल रिफर गरिएको हो।
सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान सिद्ध कुमाउ गाउँपालिका २ बस्ने १९ वर्षीय अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका १८ बस्ने ५२ वर्षीय सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका वडा नं। ८ बस्ने ६० वर्षीय टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका
३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का रहेका छन्। त्यस्तै अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका ४ बस्ने २८ वर्षीय रूपा चौधरी, रोल्पा गङ्गादेव गाउँपालिका ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका १ बस्ने ४३ वर्षीय भीम बहादुर बिक, सल्यान बागचौर नगरपालिका ४ बस्ने ४० वर्षीय इन्द्र बहादुर बिक, दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गङ्गादेव गाउँपालिका ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलिताल गाउँपालिका ४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगीशरण गाउँपालिका २ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका ३ बस्ने ४२ वर्षीय रश्मि बोहरा र घोराही उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय वेद बहादुर वली रहेका छन्।

थप
बंगलाचुलीमा संजिवनिको निःशुल्क स्वास्थ्य शिविर, ३०० जनाले लिए स्वास्थ्य सेवा
दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
लुम्बिनीमा स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्मका १३ प्रतिबद्धता