दाङ : तुलसीपुर उद्योग वाणिज्य सङ्घले आफ्नो ३० औं वार्षिक साधारणसभा विगतको तुलनामा फरक ढङ्गले सञ्चालन गर्न थालेको छ । शनिवार हुने कार्यक्रम परम्परागत ढङ्गले चल्दै आएको भन्दा फरक तरिकाले सञ्चालन गरेर समाजमा नयाँ कोण दिन खोजिएको सङ्घका अध्यक्ष विनिल केसीले बताए ।
विद्यमान समयमा समाजका सबैजसो क्षेत्रका कार्यक्रमहरूमा उपस्थित हुने सहभागीहरूलाई यो कार्यक्रमबाट कुन–कुन कुराबारे जानकारी लिन सकिन्छ भन्ने अनभिज्ञता हुन्छ । कार्यक्रममा अतिथिहरूका भाषण विषयवस्तु भन्दा बाहिर जाने तथा कतिपय अवस्थामा कुण्ठा पोख्ने थलो पनि बन्ने गरेको सबैले भोगेकै विषय हुन् । ती कुराहरूलाई मध्यनजर गरेर हाल उद्योग वाणिज्य सङ्घको टिमले यसलाई कसरी नयाँ गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अतिथिहरूले धारणा राख्ने विषयवस्तु र समय निर्धारण गरेको उनले बताए ।
‘सधैँ पुरानै शैलीमा चल्नु उपयुक्त हुँदैन । युवा पुस्ताले नयाँ ढङ्गले सोच्नुपर्छ । विगतमा हुँदै आएका र सुधार गर्नुपर्ने विषयलाई सुधारको प्रयास थालेका मात्रै हौँ । हामीलाई विश्वास छ, यो प्रयासले समाजमा नयाँ संस्कारको स्थापना हुनेछ’– उनले भने,– ‘हामीले धेरै कार्यक्रमहरूमा आयोजक र सहभागीले एउटा कुराको अपेक्षा गरेको तर अतिथिले त्योभन्दा बाहिर गएर आफ्ना धारणा राख्ने गरेको परिस्थिति भोग्दै आएका छौँ । सङ्घ नितान्त रुपमा उद्योग, उद्यमशीलता र व्यवसायसँग जोडिने भएकोले अतिथिका धारणा यही पेरिफेरिमा रहून् भन्ने सोचका साथ यो ढङ्गले कार्यक्रम सञ्चालन गर्न थालेका हौं ।’
कार्यक्रममा प्रमुख अतिथिदेखि अन्य अतिथिहरूले धारणा राखिदिनुपर्ने विषयमा उद्योग वाणिज्य सङ्घले शीर्षक र समय निर्धारण गरिदिएको छ । समाजका विभिन्न क्षेत्रमा जोडिएर काम गर्नुभएका व्यक्तिहरूलाई अतिथिको रुपमा सहभागी गराएर उहाँहरूले काम गर्नुभएको क्षेत्र र सङ्घले गर्दै आएका र गर्नुपर्ने कामको बिचमा कसरी सहकार्य गर्न सकिन्छ भन्न विषयमा शीर्षक र समय निर्धारण गरेर अतिथिहरूलाई जानकारी गराइसकिएको सङ्घका प्रेस सल्लाहकार शरद रेग्मीले बताए ।
‘अतिथिहरूले बोलेका कुरा सहभागीहरूले भाषणको रुपमा नभएर ज्ञानको रुपमा ग्रहण गरुन् भन्ने चाहनाका साथ यो नयाँ प्रयास गरेका छौँ’– उनले भने– ‘विषयवस्तुअनुसार प्रमुख अतिथिलाई पनि समय निर्धारण गरिएको छ । यसको अर्थ समयको ख्याल गरौँ र विषयवस्तु केन्द्रित होऔं भन्ने हो ।’ शनिवार बिहान ११ बजेदेखि तुलसीपुर–९ दोघरेमा रहेको उवासङ्घको सभा हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थितिका लागि सङ्घका महासचिव केशबराज केसीले सबै सरोकारवालाहरुलाई आमन्त्रण गरेका छन । कार्यक्रममा अतिथिहरूलाई उहाँहरुको क्षेत्रगत विज्ञताका आधारमा विश्व बजारमा पर्यटन तथा महिला उद्यमशीलताका सवालमा अवसर र चुनौति, स्थानीय तह र निजी क्षेत्रको सहयात्रा, उद्यमशीलता प्रवद्र्धनमा पत्रकारिताको भूमिका, व्यवसायीहरुमा कर शिक्षाको आवश्यकता लगायतका विषयहरु निर्धारण गरिएको महासचिव केसीले जानकारी दिए ।

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य