July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

भालुबाङ अस्पतालको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन, विशेषज्ञ सेवा विस्तार

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्‌घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्‌घाटन गरेका हुन् ।  उनले  अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएको र जनशक्तिको व्यवस्थापन सहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताए ।  दाङ, अर्घाखाँची, प्यूठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उनले बताए ।

त्यस्तै, उनले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूबाट विशेषज्ञ उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । अस्पतालहरूलाई पूर्वाधार सम्पन्न, विशेषज्ञ जनशक्तिको व्यवस्थापन सहित उपकरण र सेवा प्रवाहलाई चुस्त बनाउने गरी सरकार अघि बढेको समेत बताए । दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको र सुगम क्षेत्रका अस्पतालमा थुप्रिएको जनशक्ति अन्य स्थानमा पठाउन सरकार लागिपरेको बताए । नयाँ विशेषज्ञ जनशक्ति भर्ना गर्न खोलिएको विज्ञापनमा अपेक्षित आवेदन नआएको प्रति चिन्ता व्यक्त गर्दै उनले प्रदेशमा आउने विशेषज्ञ चिकित्सकलाई सरकारले प्रोत्साहन गर्ने स्पष्ट पारे । 

प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए । प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिँदै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको स्पष्ट पारे । अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको समेत बताए ।  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले यसअघि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको र अब उक्त बाध्यता अन्त्य भएको बताए । साथै, अस्पतालको जग्गा प्राप्तिको विषयलाई छिटो टुङ्गोमा पुर्‍याउन जोड दिए ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले भालुबाङ अस्पतालमा विशेषज्ञ उपचार सेवा विस्तार गरिएको जानकारी दिइनु । स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले सबैको सहकार्य र योगदानको आधारमा अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।  अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर आकाश बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर रणबहादुर बोगटीले उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी हुँदै प्रस्तावित अस्पताल भएर भालुबाङ अस्पतालको रूपमा अगाडि बढेको बताए।

२०७८ सालमा प्रस्तावित अस्पतालको रूपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको हो । अस्पतालमा जटिल प्रसूति सेवा अन्तर्गत शल्यक्रिया गरिँदै आएको छ । हालसम्म ५१ वटा जटिल प्रसूतिको शल्यक्रिया गरिएको छ । साथै, सर्जरी सेवा विस्तार गरिएको र अब रक्त सञ्चार केन्द्र आवश्यक रहेको जानकारी गराइएको थियो ।

About The Author