September 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

सकारात्मक सोच नै सफलताको मार्ग होः मुख्यमन्त्री आचार्य

भैरहवा :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोचले नै युवाहरूलाई चुनौतीहरूसँग जुध्न र सफलताका लागि अघि बढ्न प्रेरित गर्ने बताए ।  लियो क्लबले आयोजना गरेको दोस्रो काउन्सिल बैठकलाई भैरहवामा सम्बोधन गर्दै उनले हरेक क्षेत्रमा युवाहरू सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताए । युवाहरूलाई स्वदेशमा उद्यमशीलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउँदै अवसरहरूको खोजी स्वदेशमै गर्न आह्वान गरे ।

प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गरे ।‘हाम्रो प्रदेश प्राकृतिक रुपमा सम्भावना नै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्री मधेस छ । गौतमबुद्धको जन्मस्थल यही छ’ उनले भने ,‘विश्व जगतलाई नै आकर्षित गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।’  विदेशमा रहेका युवाहरूलाई पनि स्वदेशमा आकर्षित गर्नेगरी युवाहरूले रचनात्मक काम गर्न जरुरी रहेको धारणा मुख्यमन्त्री आचार्यको छ ।

मुख्यमन्त्री आचार्यले आफ्नो सङ्घर्षशील जीवनको बारेमा समेत युवाहरू माझ प्रकाश पारे । शिक्षालाई अघि बढाउँदाको सङ्घर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासँग जुध्दाको उतारचढावको बेलामा पनि हिम्मत नहारेर अघि बढ्दाको स्मरण गरे  हरेक चुनौतीलाई अवसरको रुपमा बदल्न सक्नुपर्ने, समाज सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने, उद्यमशीलता र आफ्नै प्रयासबाट नयाँ कुरा सिर्जना गर्नतर्फ लाग्न आग्रह  गरे ।

About The Author